गजल

 

बादलको घुम्टो भित्र निस्सासिदै मडारिन्छन्, नशालु रातहरु,

खोतली खोतली, जीवन, धमिल्याउन खोज्छन्, नशालु रातहरु ।

 

बर्सातको बाढि ह्वात्तै पसेको हो र सुनौला फाँटहरुमा ?

नअस्ताउँदै साँझ, विथोलिन्छन् नशालु रातहरु ।

 

मन्दिरको ढोका उघार्न खोज्दा, च्यापिएका सुकोमल हातहरु,

मुसार्न खोज्दै, चिहानघारीमा विलाउछन्, नशालु रातहरु ।

 

एकान्तमा, छरपष्टिएका सपनाहरु पोको पार्याथ्यो, पछ्यौरीमा,

पुजारी फुकाउँछन् जनैका शिखा अन्धकारमा र नाप्छन्, नशालु रातहरु ।

 

संवेदनाहरु पोखिन्छन् छताछुल्ल घर भित्र ओछ्यानहरुमा,

अल्झिन्छ अहंकार उन्मत्त रापहरुमा, र निमोठिन्छन् नशालु रातहरु ।

 

निर्बस्त्र, उधिनिएका घाउहरु कोट्याउदै, आउछन् तिम्रा समयहरु,

लुकाएर टुप्पी भित्र अनगिन्ति अस्लिल पानाहरु, र पल्टाउछन् नशालु रातहरु ।

 

दन्त्ये कथा भित्र रोपेर गोला बारुद, कविताका पंतिहरुमा,

उचाल्दै, पछार्दै, युगहरु निर्लज्ज उभ्याउँछन् नशालु रातहरु ।


गजल वाचन- नशालु रातहरु

Comments

Popular posts from this blog

म नाङ्गै छु महोदय

प्रश्नहरुको खेती

मेरो दशैं