प्रश्नहरुको खेती

 






















अचेल मेरा कृयाशिल हातहरु

कलात्मक औंलाहरु

खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै

निधार निचोरेर प्रश्नहरुको खेती गर्न

तम्सिन्छन्,

थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु,

लमलिन्छन प्रश्नहरु

तिनै सिसाकलमका टुप्पाहरुमा,

कर्कलोको पातमा फुटेका

पानीका थोपा झैं

प्याट्ट फुट्न खोज्छन्,

अनि अड्किन्छन फेरि प्रश्नहरु

तिनै सिसाकलमका टुप्पाहरुमा ।

 

अचम्म लाग्छ,

मेरा कविताका बहकावहरु छोडेर,

मेरा रंगमञ्चका रंगहरु मोडेर,

मेरा "ऐश्वर्यका" शान्त लहरहरु छचल्काएर

मेरा यी सिसाकलमका टुप्पाहरु

प्रश्नको खेती गर्न जुर्मुरिन्छन् ।

 

घोत्लिन्छु अनायासै,

खिरिल्याउन खोज्छु प्रश्नहरु,

आफ्नै प्रश्नहरु सिसाकलमका

टुप्पहरुमा अड्काएर,

लिप्न खोज्छु अक्षरहरुमा

तिनै प्रश्नहरु,

यी विचरा सिसाकलमका टुप्पाहरुलाई के थाहा

प्रश्नको खेती गर्नु भनेको,

प्रश्नहरुको खेती गर्दा गर्दै

निधार निचोरिए त ठिकै छ,

मुटु निचोरियो भने,

अझ मुटु कलेजो नै निचोरियो भने ।

 

सोच्छु सिसाकलमका टुप्पाहरु

दगुरी रहन्छन् जताततै,

टुंडाहरु अड्काउदै,

गरी रहन्छन् प्रश्नको खेती, र उठिरहन्छन

वारम्वार तेर्स्याउदै तिखा प्रश्नहरु,

तिखा टुँडाहरु उध्याउँदै

र रोपीदिन्छन सपाट बगरहरुमा

निधार ठोक्किएर झरेका शब्दका अनगिन्ति बीजहरु

यत्र तत्र सर्बत्र

प्रश्नहरुमा ।

 

यिनै प्रश्नका खेतीहरुले

आविस्कारका धमाकाहरु जन्माउछन,

आकाशका ताराहरु शयर गर्छन,

तिलश्मी दुनियाँको निर्माण गर्छन,

दर्शनका खुराकहरु

जीवन जगतका गल्छेडाहरुमा घुसाऊॅंछन्

राजनिति जन्माउछन्,

राजनितिज्ञ जन्माउछन्,

तिनै राजनितिज्ञहरु फेरि देश जन्माउछन्,

शाशक, शाशन जन्माउछन्,

र तिनका विरासतहरु जन्माउछन्,

अनि फेरि प्रश्नको घाँटि अठ्याउन लालायित हुन्छन्,

प्रश्नहरु फेरि मुर्छित हुन्छन्,

कठघरामा उभ्याईन्छन्,

अनि

कारागारमा थुनिन्छन्,

मलाई ऐठन हुन्छ,

मानौ

मलाई नै कारागारमा थुनिएको छ ।

 

फेरि बुझ्दिन

प्रश्नहरु किन

प्रश्नहरुमै अल्झिन्छन्,

प्रश्नहरु किन,

कारागारमा थुनिन्छन्,

किन सम्बृद्दिका सपनाहरुमा रेटिन्छन्,

किन समानताका आवाजहरुमा रोकिन्छन्,

किन मानवताका मुटु भित्र पसी

त्यसको भल्ब नै बन्द गरिदिेन तम्सिन्छन् 

 

झसङ्ग हुन्छु,

कुनै दिन प्रश्नहरु हराए भने,

सोच्छु प्रश्नहरु बिनाको जीवन र जगत कस्तो हुँदो हो,

प्रश्नहरु हराउनु भनेको जीवन नै हराएको हो कि झैं गरी

बहकिन खोज्छु,

फेरि अड्किन्छु

प्रश्नहरुनै जीवन हो कि

जीवन नै प्रश्नहरु ,

 

तेसै तेसै अगाडिका बाटाहरु

अन्धकार भएको देख्छु,

जिन्दगीहरु टक्क अडिएको देख्छु,

रहरहरु जता सुकै भड्किएको देख्छु,

बीच बजारमा,

बीच अन्धकारमा

प्रश्नहरुको अस्तित्वमा म

आफ्नो अस्तित्व खोजिरहन्छु

म आफ्नो अस्तित्वमा

प्रश्नहरुको अस्तित्व खोजिरहन्छु,

रातो दिन प्रश्नहरु मलाई  गिज्याई रहन्छन,

 

आजकल प्रश्नहरुले मलाई

तर्साउन थालेका छन

बिपनामा, सपनामा,

सायद प्रश्नहरु म बाट

अलग्गिन खोजिरहेछन

सायद प्रश्नहरु म बाट

अलग्गिन खोजिरहेछन ।

Comments

Popular posts from this blog

म नाङ्गै छु महोदय

मेरो दशैं