म नाङ्गै छु महोदय
कलमचक्र परमवीर !
मेरा वरिपरिका मुखियाहरु पनि त
नाङ्गै रहेछन् नि !
किन तेत्रो विश्मात गर्नु भएको ?
यहाँको दिब्यज्ञानले
सिंचित इहलौकिक संसार
छताछुल्ल लेखिदिनुहोस् न,
पोखिदिनुहोस् न समयका
निर्जिव भित्ताहरुमा
अक्षरहरुका स्वर्णिम साम्राज्यहरु,
जहाँ अनगिन्ति कौवाहरु
आकाशतिर फर्किएर
का का गरिरहुन्,
सत्ताको चास्निमा निर्लिप्त
आकुल ब्याकुल
अक्षम खलनायकहरु
फेरि दौरासुरुवाल टल्काएर
सपनामै खुदो खाईरहुन,
म आफ्नो हतियार
सोझ्याएर ठुङ मारिरहन्छु,
म आफ्नो लगाम सोझ्याएर
टाप बजारिरहन्छु
गडक गडक, गडक गडक ।
चिया बगानहरुमा
बग्रेल्ति बाँडिएका सपनाहरुलाई
फूल देखाएर सर्प झोस्नेहरुले,
सत्ता अभीप्साका अपरिमेय उच्छलनहरुमा
निथ्रुक्क भएर
"सम्बृद्दि"को होलिवाइन घोल्नेहरुले,
मेरो स्वाभिमानको
उछितो काढेको कथा लेख्ता
यहाँको कलम लर्खराउनु पर्ने,
यहाँको दिमाग खल्बलाउनु पर्ने,
यहाँ त सर्बब्यापी कलमवीर,
मेरो अभिमानको
दुर्दशा के देख्नु हुन्छ, महोदय ?
मेरा सलबलाएका हातहरु,
मेरा तिलमिलाएका मातहरुको
खहरे उर्लिरहेको बेला,
गद्दावाला कुर्सिको र्यालमा
चुर्लुम्म डुबेका अर्धचेतन
बुख्याचाहरुका दौराको फेरले
मेरा गालामा लत्पतिएको
फोहोर पुछेर मिल्काउँन खोज्दा,
मैले के बिराएँ र, महोदय ?
देश निर्माणका सारथीहरुले
इतिहासका कालखण्डहरुमा
नालापानी, कालापानीहरुमा
कोशी, गण्डकिहरुमा साटेका
सौदाहरु मिलाउन नखोजेको
कहाँ हो र, महोदय ?
मेरा लडखडाएका पाउहरु
सुस्तामा भासिएका भएपनि,
महाकालीमा टाँसिएका भएपनि,
मेचीका तिरहरुले
खग्रास राष्टबाद पढाएकै हो,
कालीका चुच्चे भिरहरुले
सगौरव सगरमाथा चढाएकै हो,
अब, जेठका निर्मम रातहरुमा
त्रिशुलीको कहालीलाग्दो बाढीमा
निमोठिएका भविष्यका कथाहरु
शितल निवासका मखमली
ऐश्वर्यहरुमा कसरी खोतलुँ, महोदय ?
कन्चनपुरमा कोतरेका घाउहरु
कसरी सिंहदरबारभित्र पाक्न सक्छन् ?
चौरजहारीमा उखेलेर
भेरीमा सेलाइएका
"गुन्डागर्दी"का अल्लारे नवनायकहरु
कसरी तेति "टाढा"का सभ्रान्त
न्यायालयहरुसम्म पुग्न सक्छन्
भन्न सक्नुहुन्छ, महोदय ?
सदिऔंदेखि आफ्नै छातीमा
निर्लज्ज बजारिएका बुटहरुको
हिसाबकिताब खोज्दा रन्थनिएका
बहुरङ्गी काकाकुलहरुलाई
थुमथुम्याउन मैले
जाबा किताबका ‘प्रक्रिया’हरुमा
फ्रिज गरिदिएको
‘शेष’को रतिरागमा नि:सृतहरुलाई
आसन्न उज्यालोको तिरमिराहटले
अल्मल्याएको पो हो कि, महोदय ?
आफ्नै घर डढाएर
आगो ताप्न उद्वेलित,
देशभक्ति गीतको बेसुरा धुन
बजाएर नाङ्गै नाच्न तम्सिएका
झुण्डहरुको बिक्षिप्त अनुहारमा
उर्लिएको विनासकारी ताण्डबमा
सामेल भएर उफ्रिराखेका
"मित्र"हरुको स्वागतमा
रचिएका रात्रीभोजहरुले
तुनेका, बुनेका योजनाका चाङहरु
यहाँले कसरी देख्नु भयो त, महोदय ?
राष्ट्रिय अपमानको सिन्दुर घस्नेहरुले,
लासका खण्डहरहरुमाथि
उदाङ्ग उभिएका मौसमी महलहरुमा
चिल्लो घस्नेहरुले,
पशुपतिनाथको कनिका फुकेर
गंगामा बिसर्जन गर्नेहरुले,
मेरो घांटीमा दागा धस्दा
मेरा बाटाहरुमा बारुद बिछ्याउँदा
म नीरो झैं बाँसुरी बजाएर
बसिरहन सक्तिन, महोदय !
गाउँ बस्तिहरुमा रोपिएका
सपनाका बिऊहरु
भदौरे बाढीमा हुत्याएर,
छातीमा घोपिएका
विद्रोहका आँधिबेहरिहरु
चुरोटको ठुटो झैं
सत्ताको एष्ट्रेमा झोसिदिनेहरुले
रातोदिन मेरो नाऊँ काढेर बसेको
कसरी सहेर बसूँ, महोदय ?
आफ्नै अपमानमा कुन्ठित
महाकाब्यहरु
चिसा सडकहरुमा लेख्नेहरुले
कानुनका दैलाहरु
हगिसकेपछि देख्नेहरुले
मेरो पराक्रमको गन्ध
कसरी थाहा पाउलान् त, महोदय ?
मेरो दिव्य गगनमा
झुलिरहेका शहश्र सपनाका
रङ्गिन गुजुल्टाहरु
हावाले उत्तर बहाउँछन कि दक्षिण,
तिनका दिग्भ्रमित अनुहारहरुले
पढ्न सक्ने देख्नुभयो र, महोदय ?
यहाँको दिव्य कलमले
मेरो अनुहारका भावहरु,
मेरा अहंकारका बहकावहरु,
गरिवका झुपडिहरुमा छन्
कि माफियाका टुकडिहरुमा छन्
कसरी देख्लान् र, महोदय ?
अत्याचारमा पिल्सिएका
जिन्दगीहरुमा छन्
कि ब्याभिचारमा निर्लिप्त
महान क्रान्तिकारीहरुमा छन्,
कसरी लेख्लान् त, महोदय?
अरबका खाडिहरुमा छन्
कि मार्सीका थालीहरुमा छन्
कसरी लेख्नसक्लान् र, महोदय ?
म नाङ्गै छु महोदय,
सर्बाङ्ग नाङ्गै !
म नाङ्गै छु महोदय

Comments