मेरो दशैं
तिम्रा कृशमस र तिम्रा थ्याङ्क्सगिभिङहरु
हजार रङ्गहरु लिएर आउदा हुन्,
तिम्रा रहरहरु सजाउदा हुन्,
तिमी आधा रात सम्म सोमरस को चुस्कि सङ्गै
रोमाञ्चित हुँदि हौ,
अझ उज्यालै हुन्जेल तिम्रा बासी कक्टेलहरु
ति चिसोमा जमाएका अनगिन्ति ब्रेडहरुमा,
तिम्रा “बा”हरु र
तिम्रै “आमा”हरुसॅंगै
रोष्ट र सिगरेटका धुवाँहरुमा,
तिम्रा संस्कारहरु, र
तिम्रा आदर्शहरुको बग्रेल्ति बिस्कुन् लगाउँदै,
चुस्कि मार्दि हौ, श्याम्पेन
फोर्दि हौ,
आधुनिकताले कक्रिएको तिम्रो मनमा
उत्तर आधुनिकताको जलप लगाएर
सर्ब श्रेष्ठ भएको प्ले य्याक्टिङ् गर्दि हौ ।
तिम्रै घरभित्र तिम्रै बा र आमाहरुलाई
पराई भएको देख्दा पनि,
उर्लिएको तिम्रो शान र तिम्रो आनले
चसक्क बिझाएको मेरो मन
तिम्रा कृशमस र तिम्रा थ्याङ्क्सगिभिङहरुले तान्न सकेनन्,
भो, मलाइ मेरै दशैं फिर्ता देऊ ।
समयको चक्र नै घुमाउन तम्सिने,
अनि तिम्रा अनेकन बहुलट्टि सपनाहरुमा
मलजल गरिदिेने तिम्रा महानाय़कहरु,
संसारकै रेखा छिन छिनमै फेर बदल गर्न लालायित
तिम्रा "अभेध्य" नायकहरु,
मेरा, तिम्रा, हाम्रा सबैका ललाटका धर्साहरु
कोर्न र मेट्न सक्ने
तिम्रा रहरहरु, तिम्रा कहरहरु,
हरेक नानो सेकेण्ड तिम्रा परिभाषाहरु बदल्दा हुन्
तिम्रा बाटाहरु छोट्याउदा हुन्
र हाम्रा भविश्यहरु कुचल्दा हुन्,
हाम्रा घरहरु भत्काउदा हुन र तिम्रा महलहरु, टावरहरु,
गगनचुम्बि स्काई स्क्रेपरहरू
ठड्याउँदा हुन, असरल्ल,
त्यसैमा तिमी अट्टहास गर्दि हौ,
त्यहि रामछायाँमा दिग्भ्रमित हुँदै
अलाप्ति हौ अर्धमुर्छित,
सपनाको इक्स्टेसि,
फगत अब्लिभियस ।
भो मलाई तिम्रा आलिङ्गनहरुले टाँस्न सकेनन्
तिम्रा "बहुमुल्य" अत्तरहरुले
मेरा भोक र तिर्खाहरु लगाउन सकेनन्
तिम्रा बडेमानका डिज्निल्यान्डहरुले
मेरो चर्खे पिङ र लिङ्गे पिङका
झङ्कारहरु साट्न सकेनन्
तिम्रा ट्रान्स्प्यारेन्ट वष्त्रहरुले मेरा
मारुनी र रोदिहरु जगाउन सकेनन्
अझ भनौं,
तिम्रा ओठहरुले मेरा मनहरु चुम्न सकेनन्
भो, मलाइ मेरै दशैं फिर्ता देऊ ।

Comments