बारुद
बारुद बनेर पड्किन
छेकिरहेछ घना बादल
माथि माथि
पहाडको टुप्पोमा
घनघोर पानी बर्षाउन,
आगोको मुस्लो
निभाउँछ हुण्डरी
र
छोड्छ झर्झराउॅंदा कोइला
खरानी भित्र,
कि खोतलुँ फेरि
उडाउँदै खरानी,
तिनै झर्झराउँदा कोइलाहरु,
र
झोसी दिउँ
चक्रवातका मुलहरुमा ।
मुर्झाएको भाले
फेरि बास्न थाल्छ
एक तमासले एकाबिहानै,
चल्लाहरु मडारिन्छन्
उछिट्टिन्छन्
खोर भित्र बाहिर
जताततै,
कर्कस डाक फैलाउँदै
सिउर ठडाउँछ फेरि,
फेरि गडगडाउँछ,
मानौ
उसका डाकले
सारा उठ्नेछन्
र
उसकै गाना गाउने छन्
उसकै भजन बजाउने छन्
साँझ विहान, रातो दिन,
अनि,
उ किच्दै मिच्दै
पोथीहरु
उठ्नेछ झन् माथि माथि,
शिर ठडाइ रहने छ
युगौं युग
चल्लाहरु किचोल्दै
पोथीहरु मिचोल्दै,
कि छिनाली दिउँ
तेस्को सिउर
घोपेर
जेलिएका नसा नसामा।
फेरि जन्मिन्छ पसिना,
विहानिका घामहरुमा,
निधारबाट बग्न थाल्छ
कुना काप्चाहरु छिचोल्दै
पाखा पखेराहरुमा,
बिउँझाउँछ पौरख
उठाउँदै छातीहरु,
र
सिंचाउँछ सपना
पाखा बारीहरुमा,
सिमसारहरुमा,
तर,
आउँछ वसन्त
अन्धकार बनेर,
फैलाउँदै उसका पञ्जाहरु,
निल्दै सपनाका घामहरु,
र,
मेटाउँदै
पखेराका डोबहरु,
कि
निचोरुँ पसिना,
सोहोरेर स्वाभिमानका ताकतहरु,
र
बजारी दिउँ
अन्धकार, निष्पट्ट
रातहरुमा ।
फेरि आई पुग्छे प्रकृति
छोरी बनेर,
बोकेर सिर्जनाका मुहानहरु,
लिएर जिजिविषाका
गर्बिला पहाडहरु,
छर्दिन्छे माया प्रेमका
अनन्त महासागरहरु,
ब्युँझिन खोज्छ आँगन,
आशाको सग्लो किरण
जगजगाएर छिर्छ
छिडिबाट,
मुर्झाएको विहानी गलहत्याउदै
पस्न खोज्छ भित्रै सम्म,
अनि
बौराउन खोज्छन्
मलिन आँखाहरु,
खिचेर
लामो सास,
तन्काउदै गोरटो,
फेरि,
गिलिल्ल गिज्याउछ समय,
रेटेर, फक्रिन लागेको फूल,
हठात ,
बगाउछ त्यहि बिहानी
रगतका टाटा हरुमा,
कुल्चिएर निर्बिघ्न,
पछारी दिन्छ
त्यहि आँगनमा,
गर्ल्याम्म ढाली दिन्छ
लगाएर पुर्ण विराम
सिर्जनाका पालुवाहरुमा,
कि
मेटी दिउॅं
जिजिविषाका विषाक्त कुण्डहरु
पड्काएर बारुद सर्बत्र फ्यालसहरुमा !
Comments