नाङ्गा अक्षरहरु


अचेल
नाङ्गा अक्षरहरु
मलाई साउती गर्छन्
एकाबिहानै
बिस्तराहरुमा,
रातको गन्ध नसेलाऊदै
आई पुग्छन सखारै
नाङ्गा अक्षरहरु,
आँखाका झिसमिसे
तरङ्गहरुमा,
लोभ्याउँदै
मेरा
अर्धचेतन आँखाहरु,
देखाउदै
तिनका बहुरुपी डालहरु,
छचल्काउँदै
तिनका बैसालु बहाबहरु,
तम्सिन्छन
नाङ्गा अक्षरहरु
चुम्बन गर्न मेरा
नग्न प्रहरहरु,
एकाबिहानै
बिस्तराहरुमा ।
 
सोच्छु,
म नाङ्गिनु
अक्षरहरु
नाङ्गिनुमा
के फरक
रहेछ,
 
सम्झन्छु,
भर्खरै नाङ्गिएको रात
सम्झन्छु
भर्खरै नाङ्गिएको बात,
 
नाङ्गा अक्षरहरु मलाई
साउती गर्छन्,
म लजाउँ
या
नलजाउँ,
द्विविधामा पर्छु,
नाङ्गा अक्षरहरु
अलमलिदा हुन
म अलमलिएको देखेर,
नाङ्गा अक्षरहरु छोप्न खोज्छु,
अर्कातिर चिप्लन्छन्, फुत्किन्छन्,
फेरि समात्न खोज्छु
झन छरिन्छन् छरपष्ट,
एकाबिहानै
बिस्तराहरुमा ।
 
तिनका नग्नताले मलाई
तानिरहन्छ या त
तिनका
बहुरङ्गि चालहरुले
फेरि अलमलिन्छु,
सोच्दछु,
मेरो शरिर
काँप्न खोज्छ आवेशमा,
 
सायद,
सायद नाङ्गिनुमा
मेरो अस्तित्वको
अर्थ देख्छन् आँखाहरु,
तर फेरि डराउछु
भित्रभित्रै
नाङ्गा अक्षरहरुसँग,
किन,
किन, तिनिहरु खितखिताउछन्
घरीघरी,
छोप्न खोज्छु
नाङ्गा अक्षरहरु
फेरि फुत्किन्छन्
कति सजिलै
मेरा
बलिष्ठ पञ्जाहरुबाट,
तेत्रा तेत्रा
अजंगका चिजहरु
अठ्याउन सक्ने मेरो
तागत,
यी बबुरा अक्षरहरुसँग
स्खलित हुन खोज्छ,
सम्हालिन्छु
जावा नाङ्गा अक्षरहरु
मेरो महत्तामाथि नै
प्रश्न तेर्स्याऊछन्
एका बिहानै
बिस्तराहरुमा !
 
घामको लालिमा
ठोकिन्छ आँखाहरुमा,
झनै अध्यारो भए झैं लाग्छ बिहानी
मलमलका बिछ्यौनाहरुमा,
फेरि
छरपस्ट छरिन्छन
नाङ्गा अक्षरहरु,
ताण्डब देखाऊॅंदै
अट्टहास गर्छन्,
 
मेरो आखै अगाडी अक्षरहरु
मान्छे भएको बहाना गर्छन,
अक्षरहरु तरबार भएछन् कि क्या हो
चारै तिर भित्ताहरुमा,
मेरो पलङ नै हल्लाए झैं लाग्छ
मेरो घर नै डगमगाए झैं लाग्छ
मलाई नै झम्टिन खोजिरहेछन्,
लुछ्न खोजे झैं गर्छन
मेरा आलिसान सपनाहरु,
तिखा नङ्ग्राहरु उध्याउँदै,
मलाई नै आक्रमण गर्न तम्सिरहेछन्
नाङ्गा अक्षरहरु,
 
हठात,
निकाल्छु बन्दुक
ताक्छु तिनै अक्षरहरु,
गर्ल्याम्म ढल्छन भित्ताहरु
तर
ढल्दैनन् अक्षरहरु
ढल्छन त केवल
मेरा अमुक, निर्जीब पर्खालहरु
मेरा बहुमुल्य सङ्गमरमरहरु
श्याण्डलियरहरु,
 
म पुरिन्छु
त्यहि डंगुरमा
नाङ्गा अक्षरहरु
मेरै टाउको माथि उफ्रिन्छन्
म थिचिन्छु
किचिन्छु,
त्यहि भग्नावषेशमा
नाचिरहन्छन्
नाङ्गा अक्षरहरु
निरन्तर
एकाबिहानै
बिस्तराहरुमा।

Comments

Popular posts from this blog

म नाङ्गै छु महोदय

प्रश्नहरुको खेती

मेरो दशैं