तिम्रा आँखाहरु
तिम्रा आँखाहरु,
दोबाटोमा बिछ्याई बस्यौ,
कहिले दोधारमा त
कहिले मझधारमा बिछ्यायौ,
कहिले अगेनाका डिलहरुमा
त कहिले भातका थालहरुमा,
कहिले तिहुन तरकारीका कचौराहरुमा
त कहिले अपसानीका घेराहरुमा
बिछ्यायौ,
घिटिक्क, घिटिक्क गला लाग्दा
तिम्रा तिनै पिलपिल, पिलपिल
विछ्याई बस्यौ,
कहिले बाँझै लडेका
बारीका पाटाहरुमा,
त कहिले पानी छिचोलेका
असारे गह्राहरुमा
बिछ्यायौ,
अक्करे भिरहरुमा
दिनभरी दिनभरी बिछ्याई राखेका
तिम्रा ती शङ्कालु, शङ्कालु आँखाहरु,
पर्खाईको आवेग लम्ब्याऊँदै
अन्धकारले झपक्कै परेली छोप्दा,
ती राता राता, ताता ताता आँखाहरु
कहिले पल्ला गाउँकी कान्छिकोमा
त कहिले माथ्ला गाऊँकी साईलीका
तिम्रा तिनै लजालु, लजालु आँखाहरु,
तिम्रा ती सुकोमल आँखाहरु,
त कहिले निराशाका पर्खालहरुमा
बि़छ्याई बस्यौ,
ती ज्वलन्त,
स्वप्निल, स्वप्निल आँखाहरु,
त कहिले विपनाका असह्य चहर्याइहरुमा
बिछ्याई बस्यौ,
कहिले आकाशका ताराहरुमा
बिछ्यायौ,
त कहिले औंसिका
निष्पट्ट निष्पट्ट अन्धकारहरुमा
बिछ्याई बस्यौ,
तिनै चुहिने झुपडिहरुमा अनवरत, अनवरत
बिछ्याएका तिम्रा ती सुन्दर आँखाहरु,
कहिले माथि उडेका जहाजहरुमा
बिछ्यायौ,
कहिले परेवाका चुच्चाहरुमा,
त कहिले कौवाका कर्कश
आवाजहरुमानी विछ्यायौ,
पल पल अरबका चर्का मरुभुमिहरुमा
बिछ्याई राखेका तिम्रा ती आँखाहरु,
कहिले सँसारै चिहाउन उभिएको
बुर्ज खलिफाका टुँडालहरुमानी बिछ्यायौ,
तिम्रा तिनै मलिन आँखाहरु
कहिले आफ्नै छोराछोरीका भविष्यहरुमा
त कहिले आफ्नै जवानीका छट्पटीहरुमा,
बिछ्यायौ,
हर रातका ऐठनहरुमा,
हरपल विछ्याएका
तिम्रा ती रोषिला आँखाहरु
कहिले भाग्य लेख्ने भावीका
निष्ठुर चालहरुमानी विछ्यायौ,
तिम्रा तिनै कोमल कोमल
निर्मल, निर्मल
थकित, थकित
बलिन्द्र आँखाहरु
आज फेरि
सपनाका निर्जीब
भग्नाबशेषहरुमा
बिछ्यायौ,
सपनासँगै जमेका
समय सँगै अडेका
बन्द बाकसमा ढलेका
कोमल कोमल
निर्मल निर्मल
आँखाहरुमा
बिछ्यायौ ।
Comments